शासकीय सुधारका तीन दशक - प्रविधि, नीति र सुशासन
मेरो निजामती सेवाको यात्रा कुनै उच्चस्तरीय मन्त्रालयको केन्द्रबाट सुरु भएको होइन। सार्वजनिक सेवामा प्रवेश गर्नुअघि कम्प्युटर प्रोग्रामिङ र अङ्ग्रेजी भाषाको अध्यापनबाट मैले व्यावसायिक जीवनको जग बसालेको थिएँ। विगत तीन दशकमा मेरो सेवाको क्षितिज सुदूरपश्चिमको दार्चुलादेखि पूर्वी पहाडको इलामसम्म विस्तार भएको छ। यसमा निजी, गैरसरकारी, अन्तर्राष्ट्रिय तथा सार्वजनिक क्षेत्रको नीति निर्माण र कार्यान्वयनको गहिरो अनुभव समाहित भएको छ। यो डिजिटल चौतारी व्यक्तिगत उपलब्धिका फेहरिस्त प्रदर्शनको थलो होइन। यो त, कर्मचारीतन्त्र कठोर र परिवर्तन प्रतिरोधी मात्र हुँदैन भन्ने कुराको नवीन पुस्ताका लागि जीवन्त दृष्टान्त हो । र, हामी सबैको प्रयत्नबाट सुशासन र प्रविधिको विकासमा नयाँ उचाइ हासिल गर्न सक्छौँ भन्ने साझा अनुभूति पनि हो।