समयको गतिशीलता सँगै मानव सभ्यताले श्रम र विश्रामको परिभाषा निरन्तर परिमार्जन गर्दै गएको छ । इतिहासको कुनै कालखण्डमा हप्ताको सातै दिन कठोर परिश्रम गर्नुलाई नै धर्म र कर्तव्य मानिन्थ्यो भने आज आएर ‘कामकाजका लागि जीवन’ होइन कि ‘जीवनका लागि काम’ भन्ने मान्यता दृढ रूपमा स्थापित भइरहेको छ । कार्य संस्कृतिको यो विकास क्रममा साप्ताहिक बिदा केवल फुर्सदको समय मात्र नभई यो राष्ट्रको आर्थिक गतिशीलता, नागरिकको मानसिक स्वास्थ्य र वातावरणीय दिगोपनालाई मापन गर्ने एउटा सशक्त कडी बनेको छ ।
सप्ताहान्तको ऐतिहासिक विकास र कानुनी आधार
सप्ताहन्तमा बिदा दिने अवधारणाको सम्बन्ध औद्योगिक क्रान्ति र श्रमिक आन्दोलनसँग जोडिएको पाइन्छ । औद्योगिक क्रान्तिको प्रारम्भिक चरणमा श्रमिकहरूलाई हप्ताको सातै दिन मेसिन सरह काममा लगाउने गरिन्थ्यो । तर, सन् १९०८ मा अमेरिकाको पेन्सिलभेनिया स्थित ‘न्यु इङ्ल्यान्ड कटन मिल’ ले र सवारी उत्पादक हेनरी फोर्डले सन् १९२६ मा आफ्नो उद्योगमा दुई दिने बिदा र ४० घण्टे कार्य सप्ताहको सुरुवात गरेपछि यसले व्यावसायिक मान्यता पाउन थाल्यो ।